Sabitlenmiş Tweet

तपाँईहरु के भन्नु हुन्छ?
जीवनमा कैयौं परीक्षाहरु दिएको छु। प्रायः परीक्षाहरुमा पास भएको पनि छु। अब फेरी एक बिषयको, सायद अन्तिम बिषयको, परीक्षा दिनुपर्ने समय आएको छ।
गीतामा भनिए झैँ “जे हुन्छ, असलैका लागि हुन्छ”। म त्यो परीक्षा दिन उत्साही छु। तर यो मैले पढेर पास हुने परीक्षा होइन। यो तपाईहरुले साथ दिए पास हुने परीक्षा हो।
जीवनका हरेक मोडहरुमा सकारात्मक सोच राखेको छु। सदैव सबैको भलो चिताएको छु। मैले एकबारको यही जुनीमा अपत्त्यारिलो तरंगीत जीवन पनि बाँचेको छु।
गाउँ घरमा घाँस-दाउँरा गरेको छु। गाइवस्तु चराएको छु। गोठपात गरेको छु। खेतबारी खन्जोत गरेको छु। पछि मेरो कार्यालयको लागि बिज्ञ भएर, चिरच्याट्ट परेर, लावालस्कर लगाएर, अफगानिस्तान, ईराक, जेनेभा र नेपाल तिर राजनीति, कानून, मानबअधिकार, सुरक्षा र कूटनीति सम्बन्धी कामहरु पनि गरेको छु।
लोकतान्त्रिक सुन्दर देश नेपालको चरम अस्थीर राजनीति, तालीबान र आइएसएसको चरम हिंसा, बिध्वसं, पीडा र निराशा, तथा जेनेभा स्वीटजरल्याण्ड लगायतको असीम शान्ति, स्थीरता र बिकास पनि देखेको छु।
कक्षा ७ मा १४ बर्षको भएदेखि घर छोडर डेरा गरेर बस्दै आएको छु। डेरा बस्न दर्जनौँ बाँझो घरहरु लिपपोत गरेको छु। पछि मौरीसस् वा न्यूयोर्कका सुबिधा सम्पन्न बसेराहरुमा स्वखर्चमा सपरिवार बसेको पनि छु।
७ बर्षको उमेरदेखि प्राथमिक शिक्षा प्राप्त गर्न बर्षौ घण्टौँ हिडेको छु। जुत्ता-चप्पल फट्कार्दै गाउँबेसी धाएको छु। बस-ट्रक चढ्न पाउनु अहोभाग्य ठानेको छु। टुकी बालेर पढ्न एक दिनको बाटो हिडेर झूलाघाटबाट मट्टितेल किनेर ल्याएर पढ्ने स्कुले जीवन बिताएको छु।
तर फेरी सयौचोटी अन्तरराष्ट्रिय प्लेनहरु पनि चढ्ने सौभाग्य पाएको छु। ‘लिअर जेट’ पनि चढेको छु। भुराभरी हुँदा कागजको पुच्छ्रे हवाइजहाज उडाएको छु। पछि नासा सेन्टर भ्रमण गर्ने मौका पनि पाएको छु। असारमा छैमासिक परीक्षा दिन जाँदा रिठेखोलाको (दार्चुला) बाढीमा बगेको छु। तर पछि रमाइलो गर्न समुद्रमा “स्कुभा डाभिङ्ग” पनि गरेको छु। मैले यस्तो दुई उत्कर्षबीचको अपत्त्यारिलो “वाहँ जिन्दगी” बाँचीसकेको छु। म सबैप्रति कृतज्ञ छु।
अब समय आएको छ - सबैको हित सुनिश्चित गर्न, मायाप्रेम बाँड्न, समाजमा बढोत्तरीमा रहेको द्वेष इर्ष्या कम गर्न, नेपाली-नेपालीहरु बीच हातेमालो गरी सुशासनयुक्त भ्रष्ट्राचाररहित बिकसित नेपाल बनाउने प्रयास गर्न र राष्ट्रिय तथा अन्तरराष्ट्रिय मन्चहरुमा बुद्धले देखाएको शान्ति, प्रगति, भाइचारा, सहअस्तित्व र सर्बजनहितायः को बाटोमा अबिचलित अघि बढ्ने।
हामीले बनाउनु पर्ने त आफ्नै देश हो। अनि मात्रै हाम्रो इज्जत बढ्छ। हामी बलियो हुन्छौ। तर यहाँ बिगार्ने र भत्काउनेहरुको कमी छैन। फेरी उनीहरुकै कुराहरु पनि ठूला छन्। यसरि हामीलाई गरीब र पछौटेको ट्याग लागेको छ। हामीले खासमा हुनुपर्ने शिक्षित, स्मार्ट र बिकसित नागरिक छ। त्यस्तो नागरिकहरुले छान्ने असल नेतृत्त्वको हामीलाई साह्रै खाँचो छ।
त्यसो गर्न अब मैले यस जीवनलाई मोड्नु पर्ने समय आएको छ। थप ढिलाइ नगरि “सार्प राइट टर्न” लिएर समाजसेवामा संगठितरुपमा लाग्नुपर्ने समय आएको छ।
मैले सकेजति दिने गरेको छु। एक ब्यक्तिले सानोतिनो दिएर के नै हुन्छ र? तर सानो सहयोगले कुनै एक मनलाई खुशी बनाउन सक्नु पनि असल नै ठानेको छु। भ्रष्ट्राचारमा “जिरो टलरेन्स”को सिद्धान्त र ब्यबहारमा बाँचेको छु। मेरो बाँकि रहेको जीवनको यात्रालाई यस सत्कार्यमा संगठितरुपमा लाग्दा थप योगदान पुर्याउन सकिन्छ कि भन्ने ठानेको छु।
के भन्नु हुन्छ? साथ दिनुहुन्छ त? विश्वास छ?
सबै मान्यजन र पृयजनहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु। नमन गर्दछु।
NE
















